काठमाडौं : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ रुपैयाँमा खरिद बिक्री भए ।
कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै, बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ ।
शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख ६० हजार २९३ रुपैयाँमा कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमिटेड २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी चार करोड ४७ लाख सात हजार ५६७ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टिपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् ।
यस्तै, आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् ।