काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।
‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’को आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाको समेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताए । नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भित्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने क्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, हामीले कानुनी व्यवस्थामा आमूल सुधार गरेका छौँ । एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनसमेत कार्यान्वयनमा आइसकेको छ ।
संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको उनले बताए ।
नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलो मात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा. खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे । सरकारले निकट भविष्यमा नै बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनसमेत ल्याउने तयारी गरेको उल्लेख गर्दै अर्थमन्त्रीले भने, बौद्धिक सम्पत्तिको सुरक्षा र प्याटेन्ट राइटका विषयमा समेत सरकार गम्भीर छ । बौद्धिक सम्पत्तिको सुरक्षा हुन्छ र गरिन्छ । उक्त कानुनको मस्यौदा तयार भइसकेको र सङ्घीय संसद्को चालू अधिवेशनमा नै प्रस्तुत गरिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने अपेक्षा राखिन् । नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उनले आग्रह गरिन् । नेपालमा हाल दुई तिहाईको बलियो र स्थिर सरकार छ, सरकारको एक मात्रै नारा आर्थिक समृद्धि हो, प्रधानमन्त्रीले त्यसैमा जोड दिँदै आउनुभएको छ , अध्यक्ष राणाले भनिन्, सरकारले सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमा लिएर जाने प्रतिबद्धतासमेत जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत् लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताए । नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पनि व्यापारिक सम्बन्धलाई नयाँ आधारमा विस्तार गर्नुपर्ने उनको जोड थियो । बुधबारदेखि सुरु भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ कक्ष रहेका छन् । कार्यक्रममा फ्रेन्चाइज इण्डियाका प्रधानसम्पादक ऋतु मारिया, फ्रेन्चाइजका जानकार सञ्जिव कपुरले व्यापारिक सोच र त्यसको उपयोगिताका बारेमा जानकारी गराएका थिए ।