काठमाडाैं : रौतहटको गुजरा नगरपालिका–६ स्थित परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य संचालक सहदेव खड्काले बताए ।
महासंघले मंगलावार विज्ञप्ति जारी गरी आगजनीको घटनाको कडा शब्दमा भत्सर्ना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकार समक्ष माग गरेको छ ।
भौतिक पूर्वाधार निर्माणमा खटिएका निर्माण व्यवसायी र तथा उनीहरुको उपकरणको सुरक्षामा सरकारले चासो नदिँदा देशभरका व्यवसायीहरु त्रसित रहेकाले व्यवसायी तथा उनीहरुको उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्ति मार्फत् जोडदार माग गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६