काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई उत्साहित गर्ने पाटोलाई पनि बजेटले ध्यान पुर्याउने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । यनले नेपाली जनताको अनुहारमा उज्यालो आउने गरी बजेटले प्राथमिकता तोकेको पनि दाबी गरेका छन् ।
सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता निश्चित क्षेत्रगत नभएको र कनिका छरेजस्तो बजेट आउने संकेत गरिएको भन्दै उठाएका प्रश्नको जवाफमा मन्त्री खतिवडाले क्षेत्रगत प्राथमिकता कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य के हो भन्ने नआएको बताए ।
खास क्षेत्रलाई प्राथमिकता दिन खोज्यो भने उद्देश्य पूरा हुन नसक्ने मन्त्री खतिवडाको भनाइ थियो । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेका लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने बताए ।
अर्थमन्त्री खतिवडाले सरकार वित्तीय संघीयता कार्यान्वयनमा दृढ रहेको बताए। उनले बजेट अनुशासन र मापदण्डमा बस्नुपर्ने भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको र वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिने पनि उनको भनाइ थियो । राज्यका सिद्धान्त, मौलिक हक, प्रेस स्वतन्त्रता, मानवअधिकारसँग उठेको प्रश्न कानुन निर्माणका क्रममा संसद्मा आगामी दिनमा पर्याप्त छलफल हुने बताउँदै अर्थमन्त्री डा. खतिवडाले बनेका कानुनलाई कार्यान्वयन गर्नेमा सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
बजेट विनियोजन गर्दा जनसंख्या र भौगोलिक सन्तुलन दुवै महत्त्वपूर्ण रहेका र प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने अर्थमन्त्री खतिवडाले बताए ।
सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै लगिने र नीति तथा कार्यक्रम र बजेटमार्फत् वित्तीय सङ्घीयता कार्यान्वयन हुने अवस्थामा पुगेको उनकाे भनाइ थियो ।
मुलुकले अपनाएको राजनीतिक र आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय सम्बन्धमा टेकेर बजेट तयार हुने जानकारी उनले दिए । उनले बजेट निर्माण गर्ने क्रममा पुँजीवादी विकासको बहस र कुन देशले कस्तो प्रणाली अपनाएको छ भन्ने कुरामा अल्झिएर मौलिक किसिमले गर्ने बताए ।
तीन दिनसम्म चलेको प्रि-बजेट छलफलमा आएका सांसदका सुझावलाई बजेटमार्फत् सम्बोधन गर्ने अर्थमन्त्रीले प्रतिबद्धता जनाएका थिए । विधेयकका बारेमा सांसदहरूले उठाएका प्रश्न र सुझावलाई एकीकृत गरी सम्बोधनका लागि अर्थ मन्त्रालयमा पठाइने सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६