काठमाडाैं : आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आयोजना हुने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो ।
संघको आयोजना विगत ६ वर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुँदै आएको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते बुधबारदेखि २९ गते आइतबारसम्म राजधानीमा हुने आयोजकले जानकारी दिएको हो ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।
यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको अग्रवालको भनाइ थियो ।
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेे छ । इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्न सक्ने उनको भनाइ छ ।
पाँच दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहने छन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।
नेपालमा बर्सेनि फर्निचर तथा फर्निसिङका उत्पादनहरूको ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आँकलन छ । जसको झण्डै ५० प्रतिशतभन्दा बढी विदेशी फर्निचर आयात भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६