काठमाडौं : सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संघीय सरकारमा मात्र होइन, प्रदेश सरकारमा समेत साना साना योजनामा समेत बजेट हाल्ने सोच देखिएको भन्दै सच्याउन आग्रह गरेका छन् ।
आइतबार संसदमा जारी प्रिबजेट छलफलमा बोल्दै सांसद पाण्डेले संघीय सरकारले ठूलो, प्रदेश सरकारले प्रदेश स्तरका योजनामा काम गरेर साना योजनाहरु स्थानीय तहहरुमा पठाउनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले मन्त्री भएपछि पैसा बाँड्नुपर्छ भन्ने प्रवृत्ति देखिएको पनि बताए । यस्तै हो भने भोलि गृह, रक्षामन्त्रीले बजेट माग गर्ने अवस्था आउने उनले बताए । उनले भने, ‘यो प्रवृत्ति यसरी बढेर गएको छ कि भोलि रक्षामन्त्रीले पनि बजेट माग गर्ला । किनभने रक्षाले त बजेट हाल्दैन ।’ मन्त्री भएपछि पैसा बाँड्नुपर्छ भन्ने सोचकै कारण मन्त्रालयहरुले पैसा नभएपनि नयाँ शिर्षक बनाएर तान्न प्रयास गरेको उनले बताए ।
पूर्वअर्थमन्त्री पाण्डेले नीति तथा कार्यक्रममा १२८ बुँदा मध्ये १५० बुँदाले पैसा माग गर्ने भन्दै प्राथमिकता तोक्नुपर्नेमा जोड दिए । त्यस्तै, आयात रोक्ने कि निर्यात गर्ने बाटो लिने हो प्रष्ट हुन समेत सरकारलाई सुझाव दिए ।
बजेटमार्फत भोटको राजनीति : कार्की
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्धाधुन्ध कनिका छरेझैं बजेट छरेर भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर बजेट बनाउन अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव पनि दिए । बजेटका सिद्धान्त र प्राथमिकतामाथि आइतबार संसदमा धारणा राख्दै उनले मुलुकको अर्थतन्त्रको चाबी बोकेको अर्थमन्त्री राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न नसकेमा अर्थतन्त्रले सही बाटो लिन नसक्ने बताए ।
बजेट सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रको चुनौती भन्दा पनि गत वर्षका सामान्य उपलब्धीको बढाईचढाई मात्र गरिएको कार्कीले बताए । पूर्वमन्त्री कार्कीले बजेट खर्च हुन नसक्ने कार्यक्रममा बजेट विनियोजन गर्ने गत वर्षको चलन यसवर्ष नदोहोर्याउन सुझाए ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६