काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा ढिलाइ गर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको स्थलगत भ्रमणमा गएका घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एन्ड कन्ट्रक्सनका शरद गोल्छालाई फोन गरेर निर्माणमा लापरबाही गरे कालोसूचीमा राख्ने चेतावनी दिए ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र नेपाली साझेदार कम्पनी लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको छ ।
‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’, उनले टेलिफोनमा गोल्छालाई भने, ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अवराध के हुन सक्छ ?’
कम्पनीले विद्युतगृह तथा प्रसारण लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरूले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने छ । कम्पनीले श्रमिकहरूलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ ।
प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरूको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।
१५ दिनभित्रै परीक्षण सकिने
मकवानपुरमा निर्माण भइरहेकाे १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ ।
आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिले गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।
आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान गरिदिएको छ । मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६