काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् ।
नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जान लागेका हुन् । ओलीले भियतनाममा चार दिन र कम्बोडियामा तीन दिन रहनेछन् ।
भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा ओली औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले २९ वैशाखमा भियतनाममा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
भियतनामको हनोइबाट प्रधानमन्त्री ओलीको भ्रमण दल ३० वैशाखमा कम्बोडियाको न्होमपेन जानेछ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईलगायत सहभागी हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६