हुम्ला: हुम्लाकाे सरकारी र स्थानीय तहमा १८ करोड १० लाख एक हजार ९८९ पैसा ४७ बेरुजु निस्किएको छ । हुम्लाका १३ सरकारी कार्यालय र ६ गाउँपालिकामध्ये सिमकोट गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको हो ।
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि शपथका बेला गाउँपालिकालाई बेरुजुमुक्त गाउँपालिका बनाइने सङ्कल्प जनप्रतिनिधिले गरेका थिए । उनीहरुका अनुसार जेठ महीनाभित्र काम सकेर असारभित्र फरफारक गरिसक्ने लक्ष राखिए पनि अहिले सबैभन्दा बढी बेरुजु सिमकोट गाउँपालिकामै तीन करोड ५२ लाख ७२ हजार ९८८ को बेरुजु देखिएपछि स्थानीय बासिन्दा आक्रोशित छन् ।
महालेखा परीक्षकको कार्यालयले सबैभन्दा कम अदानचुली गाउँपालिकाको एक करोड ३७ लाख ३०७ बेरुजु औँल्याइएको छ । त्यसैगरी नाम्खाको दुई करोड ३७ लाख ५७ हजार ६१५, चङ्खेलीको रु दुई करोड ४९ लाख ४० हजार ८७५, खार्पूनाथ गाउँपालिकाको दुई करोड ३५ लाख २८ हजार ६६४ र सर्केगार्डको तीन करोड ५१ लाख ७२ हजार ९८० बेरुजु देखिएको छ ।
स्थानीय तहमा करोडौँ आर्थिक बेरुजु भएको खुल्न आएपछि सो विषयमा बारम्बार सूचना माग गर्दा समेत तहले अहिलेसम्म दिन मानेका छैनन् । कोष तथा लेखानियन्त्रण कार्यालय हुम्लाले पनि गाउँपालिका र सरकारी निकायकै चरम लापरवाहीले बेरुजु थुप्रिएको जनाएको छ । कोलेनिका हुम्लाका कोष नियन्त्रक राजन रेग्मीले स्थानीय तहले आर्थिक ऐन विपरीत राजनीतिक दवावमा रकम खर्च गर्नाका साथै आर्थिक मापदण्ड विपरीत हिँडेर मन परी खर्च गरेको बताए ।
आर्थिक ऐनले नदिएको भ्रमण तथा बैठक भत्तालगायत दैनिक भ्रमण भत्ता लिने लगायत कारण रहेको उनले जानकारी गराए।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६