सिरहा : माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूरुपक्षका लागि कारागार पठाएको छ ।
अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाएको हो । प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए ।
प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका- १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ । त्यस्तै, राजविराज नगरपालिका- १६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत् परीक्षा अगावै सार्वजनिक भएको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादाविपरीत कार्यअन्तर्गत मुद्दा चलाएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची व्रह्मदेवले इमोमार्फत् आफ्ना दाजु विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत् शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।