बेझाड : निःशुल्क दुर्घटना बीमा कार्यक्रमले श्रमिक मजदूरमा खुशीयाली छाएको छ । रामपुर क्षेत्रमा काम गर्दै आइरहेका मजदूरलाई दृष्टिगत गर्दै पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिले निःशुल्क दुर्घटना बिमा कार्यक्रम ल्याएकाले यहाँका मजदूर उत्साहित भएका हुन् ।
मजदूरको हकहित तथा मजदूरी पेशालाई सम्मान दिन, उनीहरुमाथि भविष्यमा आइपर्ने घटनालाई दृष्टिगत गर्दै निःशुल्क दुर्घटना बिमागराउन थालिएको समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । समितिमा आवद्ध मजदूरलाई दुई लाखसम्मको दुर्घटना बीमा गरिदिने व्यवस्था छ, यस कार्यक्रमले मजदूरमा कामप्रति आकर्षण बढेको छ पोखरेलले भने ।
एक वर्षअघिदेखि समितिले पोटेन्सियल कम्पनीमार्फत रू दुई लाख बराबरको सो कार्यक्रम शुरु गरेकामा हालसम्म ६३०ले बिमा गरिसकेका छन् । रामपुर क्षेत्रमा काम गर्दै आइरहेका एक हजार ५० मजदूर छन् । ती मजदूरलाई एकीकृत रुपमा व्यवस्थापन गरी तिनको हकहितका निम्ति काम गरिरहेको समितिका सदस्य हरि पोखरेलले बताए। पाँच वर्षअघि संस्था गठन गरेर छरिएर रहेका मजदूरलाई सङ्गठित गराउँदै ज्याला निर्धारण, दुर्घटना बीमा, जनचेतनामूलक कार्यक्रमलगायत कार्य गर्दै अगाडि बढेका छौँ उनले भने ।
ज्यालामा ठगिँदै आएका मजदूरको गुनासालाई समितिले काम अनुसारको ज्याला उपलब्ध गराउने कार्यमा पनि ठूलो भूमिका निर्वाह गरेकोे छ । उक्त समितिमा आवद्ध मजदूरले अहिले काम अनुसारको समान ज्याला बुझिरहेका छन् । विगतमा एकै काम तर ज्यालामा विभेद हुने गरेकामा अहिले समितिले नियम बनाएपछि काम अनुसारको ज्याला बुझ्न पाइएको मजदूर सुमन खाम्चा मगर बताउछन् ।
पुरुष सरह नै हरेक कामसँगै गर्छु, ज्याला पनि बराबर नै बुझ्ने गरेको छु, पहिला पुरुष र महिलालाई ज्यालामा विभेद गरिन्थ्यो भने अहिले काम अनुसारको ज्याला पाइएको छ उनी भन्छन । अठार वर्षदेखि रामपुर क्षेत्रमा रहेर यो व्यवसाय गर्दै आउनुभएकी सुमन बालुवा चाल्ने, घरको गारो लगाउनेदेखि भवन निर्माणको काम पनि आफै ठेक्का लिएर गर्नुहुन्छ ।हाल यस क्षेत्रमा समितिमा आवद्ध भएका र नभएका गरी करीब दुई हजार पाँच सय मजदूर कार्यरत छन् । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६