काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताएका छन् ।
१६ औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनले प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।
सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए । सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त भएको बताए । समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वासआर्जन गर्न आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै संख्या बढेसँगै गुणस्तर खस्किएकोमा चिन्ता व्यक्त गरे । फरक प्रसंगमा उनले निर्वाचन प्रणालीलाई आमूलपरिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गरे ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारामाथि कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए । प्रेस स्वतन्त्रता उल्लंघन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उनीहरुको धाराणा थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६