काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि कार्यक्रममा गएका बेला जे पनि बोलिदिन्छन् भन्ने संगीन आरोप लाग्ने गरेको छ ।
प्रधानमन्त्री भएपछि तुइन विस्थापन गर्नेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्मको व्यवस्था गर्छु भन्दै आएका छन् । तर, आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा ती कुराहरू पर्लान त ? यही नीति तथा कार्यक्रमकै आधारमा आउँदो जेठमा सार्वजनिक गरिने आगामी वर्षको बजेट विनियोगित हुन्छ । नीति तथा कार्यक्रम सार्वजनिकपछि एक साता छलफलहरू हुने भए पनि अधिकांश कुराहरू परिवर्तन नहुने नजिर पहिल्यैदेखिको छ ।
यो प्रश्नको उत्तर पर्खिन धेरे समय त लाग्दैन, त्यही पनि धेरैको चासो भने छ । चुनावमा वृद्धभत्ता पाँच हजार पुर्याउनेदेखि लिएर पेट्रोल खानी, रेड सेवा, मेट्रो रेल, पानी जहाज, जनताले भोकै बस्न नपर्ने नीति तथा कार्यक्रम, पाइप लाइन ग्यासदेखि मै बनाउँछु मेरो धरहरा जस्ता थुप्रै योजनाहरू छन् । उनका यस्ता योजनाहरू त धेरै छन् । तर, कार्यान्वयन भने खासै हुन सकेको छैन ।
यसलाई नीति तथा कार्यक्रममा पारेर कार्यान्वयन भएमा बल्ल उनका बोलीहरूको सार्थकता हुने विश्लेषण गरिएको छ ।
यी र यस्तै प्रकृतिका अन्य धेरै कार्यक्रम अर्थात् जुन कार्यक्रममा गए पनि उनले ‘प्याच्चै’ बोलेर कुनै पनि कुराको चिन्ता नलिनु भनेर आश्वासन बाँड्ने गरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीमा अड्डी कसेका प्रधानमन्त्री ओलीले आम जनताको मन जितेका थिए । तर, दोस्राे पटक प्रधानमन्त्री भएको १४ महिना पुग्न लागिसक्यो ।
प्रधानमन्त्रीले सुरुका वर्षमा ऐन, कानुनका कुराले विकास गर्न नदिएको स्पष्टीकरण पटक–पटक दिँदै आएका छन् । पछिल्लो पटक मे १ अर्थात् मजदुर दिवसमा पनि उनले धेरै आश्वासन बाँडेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६