काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआई’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन् ।
ल्हासाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गरेको रात्रिभोजमा मे महिनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिए । उनले दृढ मनसाय भएमा जस्तोसुकै स्थानमा पनि विकास र प्रगति गर्न सकिन्छ भन्ने प्रमाण तिब्बतले दिएको बताउँदै तिब्बतले पूर्वाधार, पर्यावरण, प्रविधि तथा जनताको जीवनस्तर उकास्न प्राप्त गरेको सफलताप्रति बधाई व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी झालाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच भएको सहमति तथा समझदारीलाई कार्यान्वयन गरिने जानकारी दिए ।
उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए । ‘राजकुमारी वेनचेङ’ अवलोकन परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गरे । राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ ।
करिब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ । यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक कथानकको रुपमा लिइन्छ । यसमा नाटक, सङ्गीत, नृत्य तथा आधुनिक कोरियोग्राफीमार्फत् ताङ वंश र प्राचीन तिब्बतको मौलिक दृश्य देखाउन खोजिएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै इन्टेलिजेन्ट ग्रिनहाउस एन्ड डेरी प्रडक्ट प्रोसेसिङ फ्याक्ट्रीको भ्रमण गरी त्यहाँ हुने उत्पादनका विषयमा जानकारी लिएका थिए । इन्टेलिजेन्ट ग्रिनहाउस एन्ड डेरी प्रडक्ट प्रोसेसिङ फ्याक्ट्रीको आफ्नै गाईपालन फार्म छ भने यस संस्थाले दूध, दही र दूधजन्य अन्य परिकार उत्पादन गर्छ । -रासस
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६