काठमाडौं : बुधबार साँझ काठमाडौंमा ठूलो हावाहुरी चलेको छ । बेलुका ६:५० बजेदेखि सुरु भएको हावाहुरी अहिले पनि जारी छ ।
हुरीले ठूलो क्षति भएको हुन सक्ने आशंका गरिएको छ । कतिपय ठाउँमा पोलमा विद्युत सर्ट भएर आगलागी भइरहेको छ भने सानातिना टहराहरू हुरीले उडाएको छ । दिनभर मौसम सफा भए पनि साँझपख बदली हुँदा हावाहुरीसहित पानी पनि परिरहेको छ ।
बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रबात फानी विस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ । शुक्रबारबाट यो प्रणाली उडिसा आसपास मोडिने देखिएको बताइन्छ ।
उक्त चक्रबात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए तापनि नेपालको पूर्वी र मध्यहिमाली भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्हरूले सल्लाह दिएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६