हेटौँडा : नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महिनामा विद्युत् बिल भुक्तानीबाट एक अर्ब ५३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरूले मासिक करिव १७ करोड रुपैयाँ विद्युत् खपत गरेवापत राजस्व बुझाउने गरेको बताइएको छ ।
साथै वितरण केन्द्रको करिव ५० लाख रुपैयाँ ई सेवामार्फत् राजस्व सङ्कलन भइरहेको छ । त्यस्तै, प्राधिकरणले हेटौँडा क्षेत्रभित्र रहेका १४० वटा उद्योगलाई ठूला ग्राहकका रूपमा राखेर विशेष सेवासमेत प्रदान गरिरहेको छ । वितरण केन्द्रअन्तर्गतका सो उद्योगको रिमोर्ट मिटरबाट मिटर रिडिङ गर्ने गरेका छ ।
केन्द्रका प्रमुख शम्भु कुसियतका अनुसार ग्राहकले निवेदन दिएलगत्तै विद्युत् मिटर जडान हुने गरेको र अन्य प्राविधिक तथा प्रशासनिक काम योजनाबद्ध तरिकाबाट भइरहेको छ । त्यस्तै, केन्द्रले ई सेवामार्फत् मासिक चार हजार ग्राहकले विद्युत् बिल भुक्तानी गरिरहेको जनाएको छ ।
विद्युत् चोरी तथा चुहावट रोक्न निरन्तर अनुगमन कार्य भइरकेको पनि केन्द्रले जनाएको छ । यसैबीच प्राविधिक रूपमा भइरहेका विद्युत् चुहावट रोक्न क्षेत्रीय विद्युत् कार्यालय हेटौँडाद्वारा मातहतका कार्यालयबीच छलफलको आयोजना गर्यो । सो कार्यक्रममा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका १३ वटा कार्यालयका प्रमुख एवं प्रतिनिधिले प्राविधिक रूपमा चुहावट हुने विद्युतको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६