बारा : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताएका छन् ।
बारा जिल्लाको फेटा गाउँपालिका– ६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गरे । हावाहाहुरी प्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घर निर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दबाबले पनि प्रभाव पार्दैन , उनले भने ।
सङ्घीय सरकारले पीडित जनताको घाउमा मह्लम लगाउने काम गरेकाले प्रदेश २ सरकारले यस काममा विमति नजनाउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रदेश २ को मुख्य सचिवको संयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको ससमेत सहयोग हुने बताए ।
यही वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकैचोटि घर बनाउने काम सुरु गरिने र त्यस काममा ७५० इञ्जिनियर संलग्न हुने जानकारी उनले दिए । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रत्येक परिवारलाई एउटा भान्सा र शौचालय गरी दुई कोठे घर बनाइने जानकारी दिए । उनले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्ण रूपमा क्षति भएका व्यक्तिको घर बनाइने उनले बताए ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरूसँग जानकारी लिएका थिए । सङ्घीय सरकारले बारा र पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।