रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ।
लुक्लाबाट आएको विमान रामेछापमा अवतरणको क्रममा उक्त दुर्घटना भएको हो । तारा एयरको नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।
धावनमार्गबाट चिप्लिएकाे विमान छेउकाे तारजालीमा पुगेर राेकिएकाे थियाे । चालक दलका सदस्यसहित १४ जना सवार जहाज दुर्घटनामा मानवीय क्षति भने नभएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको विमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ ।
जहाज हटाउन र त्यसको प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट मन्थली गइसकेको छ। उक्त टोलीले जहाजको परीक्षण र हटाउने काम गरेपछि मात्र विमानस्थल खुल्ने चौरासियाले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६