धादिङ : धादिङको पृथ्वी राजमार्गस्थित बेनीघाट रोराङ गाउँपालिका–३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको बस दुर्घटना भएको हो ।
तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घनामा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन सकेको छैन ।
यस्तै दुर्घटनामा ११ महिला र १४ पुरुष गरी २५ जना घाइते भएका छन् । घाइते भएका २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बाँकी गम्भीर चार जना घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६