काठमाडौं : प्रायः हामीले सुरक्षा निकायका नकारात्मक समाचारहरू मात्रै पढ्दै आएका छौँ- कहिले भ्रष्टाचार त कहिले दुर्व्यवहार । कहिलेकाहीँ राम्रा काम पनि गरेका हुन्छन् तर त्यसको लेखाजोखा खासै गरिँदैन किनभने यस्ता कर्म गर्नेहरू कमै भेटिन्छन् ।
बिहीबार अपराह्न साढे ६ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यालय प्रमुखहरूको नियमित बैठक सकेर फर्किंदै गरेका थिए, सशस्त्र प्रहरी बल, मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम हुमागाईं । बैठकस्थलबाट कार्यालयतर्फ जाने क्रममा विराटनगर कन्चनबारीस्थित धिताल पेट्रोल पम्प नजिकै दुई जना लडिरहेका देखेपछि उनले गाडी रोक्न लगाए ।
अन्नपूर्ण पोष्टको को२च १४१४ नम्बरको पत्रिका बोक्ने गाडीलाई पछाडिबाट आएको को३०प ३२१० को मोटरसाइकलले ठक्कर दिँदा ती दुई बेहोस अवस्थामा भेटिएका थिए । गल्ती कसको भन्दै भनाभन भइरहँदा रगताम्य घाइतेहरूलाई कसैले वास्ता गरेका थिएनन् ।
डीएसपी हुमागाईं भन्छन्, ‘घटनास्थलमा घाइतेलाई उपाचार गर्नतिर कसैले चासो देखाएका थिएनन् । वादविवाद बढ्ने क्रममा थियो । हामीले वादविवाद सुन्नतिर होइन, घाइतेहरूलाई अस्पताल पुर्याउनतिर लाग्यौँ ।’
मोटरसाइकल चालकमध्ये रोशन श्रेष्ठ गम्भीर घाइते अवस्थमा लडिरहेका थिए । उनको शरीरबाट रगत बगिरहेको थियो तर उनलाई अस्पताल लैजानेभन्दा वादविवाद गर्नेहरू बढी थिए । उनीसँगै घाइते भएका अर्का लोकेश राई पनि थिए ।
दुवैलाई अस्पताल पुर्याएर सशस्त्र प्रहरीहरू आफ्नो कार्यालयतर्फ गएका थिए । त्यति बेला धेरैले सशस्त्र प्रहरीलाई धन्यवाद दिएका थिए । यस्तो दृश्य देखेर दुर्घटनास्थलमा भेला भएकाहरू अचम्ममा परेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६