काठमाडौं : बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन् ।
गृहमन्त्रालयमा आज एक कार्यक्रम गरेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरे ।

सचिव राई र महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरियो । यस्तै, गृहमन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरू फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई पनि नगद छ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनइ थियो ।
सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए ।
गृहन्त्रालय र सो अन्तर्गतका निकायहरूको आ.व.२०७३÷७४सम्मको बेरुजु आ.व. २०७४÷७५ मा फछ्र्यौट गरिसक्नुपर्ने हुन्छ । सो अवधिमा ६३.०३ प्रतिशत अर्थात् चार अर्ब ३० करोड ९७ लाख रुपैयाँ रहेकामा दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्र्यौट भएको छ ।

यस्तै नेपाल प्रहरीको आ.व.२०७३÷७४सम्मको बेरुजु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख फछ्र्यौट भएको छ ।
बेरुजु फछ्र्यौट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्यौटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रअनुसार उनीहरूलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६