काठमाडाैं : महालेखापरीक्षकको कार्यालयले शुक्रबार वार्षिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै यसवर्ष ५९ अर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण भएको जानकारी दिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार अद्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गतवर्ष ५ खर्ब ८ करोड रुपैयाँ बराबर रहेकोमा यसवर्ष बढेर ६ खर्ब ८३ अर्ब ६२ करोड रुपैंयाँ पुगेको छ।
यस वर्ष संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न जनाएको छ। सो मध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ।
यो वर्ष ७ वटा प्रदेशको २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात ७ दशमलव २५ प्रतिशत बेरुजु कायम भएको र ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५