विराटनगर : एनआइसी एसिया बैंकले आम कर्मचारीलाई २५ महिनाको तलब वा १५ लाख रुपैयाँ बिनाधितो ऋण सुविधा उपलब्ध गराउने भएको छ ।
बैंकका प्रदेश नम्बर १ प्रमुख लक्ष्मण चालिसेले आइतबार पत्रकार सम्मेलन गरी २२ वटा विभिन्न विशेषता अन्तर्गतका १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरे । उनले कर्मचारीलाई तीन महिनाको तलबसमेत अग्रिमरूपले लिन पाउने सुविधा उपलब्ध हुनुका साथै चमत्कारिक बचत खाता, नारी, ज्येष्ठ नागरिक, बाबुनानी, विद्यार्थी तथा स्वरोजारलगायतका खाताबाट औषधि उपचार, मृत्यु बीमालगायतका अन्य सुविधा उपलब्ध गराई यही चैत २० गतेदेखि सुविधा उपलब्ध गराइसकेकोे जानकारी दिए ।
१ नम्बर प्रदेशमा बैंकका ५२ शाखा, चार एक्स्टेन्सन, आठ शाखारहित बैंक र ६४ एटिएम सेवाबाट ग्राहकले सुविधा पाइरहेको जनाएको छ । सो अवसरमा प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाका जनतालाई बैंकिङ सेवा पुगेको जानकारी गराइयो ।
गत असार मसान्तसम्म १८ अर्ब ६० करोड निक्षेप सङ्कलन गरी २८ अर्ब २० करोड ऋण लगानी गरेको छ । बैंकले तीन सय ७५ कर्मचारीमार्फत् तीन लाख दुई हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५