काठमाडौं : विभिन्न वहानामा विवादमा आउने चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन विष्णुराज ओझालाई विद्यार्थीले आज कालोमोसो दलिदिएका छन् ।
३० दिन लाग्ने कोर्ष चार दिनमै सकेको आरोप उनीमाथि लागेको छ । यस क्याम्पसका पूर्व अखिल सचिव वामदेव रेग्मीले आजको न्युजलाई दिएको जानकारीअनुसार प्राध्यापकसमेत रहेका ओझाले ३० दिनको कोर्ष ४ दिन, त्यसमाथि पनि २/२ घण्टाका दरले ८ लेक्चरमा सकेका थिए । छैटौँ सत्रान्तको कोर्षमा तीनवटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै कोठामा राखेको आरोप पनि लगाएका छन् ।
विद्यार्थीले ओझालाई कालोमोसो दलिदिएर जुत्ताको माला लगाइदिएका थिए । वर्षौंदेखि ओझाले विद्यार्थीले गरेको विरोधका कारण प्राक्टिकलमा नम्बर पनि कम दिने गरेको आरोप विद्यार्थीले लगाएका छन् । चौथो सत्रान्तको ४ जना विद्यार्थीको नम्बर निकै कम दिएपछि विद्यार्थीहरू थप आन्दोलित बनेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५