काठमाडौं : न्याय परिषद् बैठकले उच्च अदालतका लागि १७ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको छ । न्याय परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षमा मंगलबार बसेको बैठकले १८ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्वमहान्यायाधिवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
यस्तै, उच्च अदालतमा रिक्त १८ जना न्यायाधीशमा न्याय सेवाका विशिष्ट श्रेणी अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाई नियुक्त गरिएको छ ।
पौडेललाई पाटन उच्च अदालत, उपाध्यायलाई हेटौडा उच्च अदालत इजलास र ढकाललाई जनकपुरमा पदस्थापन गरिएको पनि परिषद्ले जनाएको छ ।
पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश नीलम पौडेललाई उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलास, जिल्ला न्यायाधीशहरू बालमुकुन्द दवाडी, लेखनाथ ढकाल, राजेशकुमार काफ्ले, महम्मद जुनेद आजाद, कुलप्रसाद शर्मा र नागेन्द्रलाल कर्णलाई पनि उच्च अदालतको न्यायाधीश बनाइएको छ ।
कानुन व्यवसायीहरू अन्जु उप्रेती ढकाल, जगतबहादुर थापा (मोरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भोजपुर), रेणुका साह (महोत्तरी), डालकुमार खड्का (बारा), उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया (नुवाकोट) पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।
न्याय परिषद् बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक उपस्थित थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५