चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुसीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै छ ।
नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन, मध्य भोटेकोसीजस्ता आयोजना निर्माण गरिरहेको छ । सरकारले आम नेपालीको मनमा स्थापित चिलिमे कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका तीन आयोजनालाई समेत जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर उच्च प्राथमिकता दिएको छ ।
शेयर बजारमा मानक र नाफा दिने कम्पनीको रुपमा स्थापित सोही कम्पनीको सहायक कम्पनी सरकारको प्राथमिकताको क्षेत्रमा पर्नु आफैँमा खुसीको विषय भएको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए ।
‘हामीले साधारण शेयर बिक्रीको तयारी गरेका थियौँ, नेपाल धितोपत्र बोर्डले स्वीकृतिसमेत दिएको अवस्था थियो तर सरकारले नै राष्ट्रिय कार्यक्रममा समावेश गरिदिँदा त्यसले पार्ने प्रभाव असाध्यै सकारात्मक हुन्छ’, उनले भने, ‘आम नेपाली नागरिकले समेत आयोजनामा अपनत्व महसुस गर्ने भएकाले पनि हामी बढी खुसी भएका छौँ ।’
पछिल्लो विवरण अनुसार रसुवागढीको भौतिक प्रगति ६७ प्रतिशत भइसकेको छ । यस्तै माथिल्लो साञ्जेन ७५ प्रतिशत र साञ्जेनमा ६० प्रतिशत बढी प्रगति भइसकेको छ । आगामी डेढ वर्षभित्र ती आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको छ । आयोजनाको निर्माण कार्य उत्साहजनक रुपमा नै अगाडि बढिरहेको छ । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार आयोजनाको कार्यप्रगति प्रभावकारी र सन्तोषप्रद छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो । बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री वर्षमान पुनले जानकारी दिए । ती आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।
कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले आयोजनाको गरिमा बढाउन र बढीभन्दा बढी लगानीकर्तालाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रममा ती आयोजना थप गरिएको बताए ।
नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेनलाई ५४ करोड ७५ लाख बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरका एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ । माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट हो भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।
रसुवागढी र साञ्जेनको शेयर भने प्रतिकित्ता एक सय रुपैयाँकै दरमा खरिद गर्नुपर्ने छ । यसअघि माथिल्लो त्रिशूली थ्री बीमा भने प्रतिकित्ता १० रुपैयाँ मात्रै अग्रिम लगानी गरे हुने व्यवस्था थियो । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार साञ्जेन र रसुवागढीका साधारण शेयर भने प्रतिकित्ता एक सय रुपैयाँमै बिक्री हुने छन् ।
रसुवागढीको क्षमता एक सय ११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कूल १९ आयोजना छनोट गरी तीन हजार पाँच सय मेगावाट क्षमता बराबरका आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत लगातार शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।
प्रसारण लाइनको चिन्ता
आयोजना समयमै सम्पन्न गर्न प्रबद्र्धक कम्पनी लागेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएला कि नसकिएला भन्ने चिन्ता भने व्याप्त छ । कूल २७ किलोमिटर लामो दुई सय २० केभी क्षमताको चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणको काम अपेक्षाकृत रुपमा प्रभावकारी रुपमा अगाडि बढेको छैन ।
डिभिजन वन कार्यालयले स्वीकृति नलिएको भन्दै केही समय आयोजनाको काम सुरु नै भएन । केही समय पहिले मात्रै मन्त्रिपरिषद्ले प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने ४१ हेक्टर क्षेत्रफलका रुख बिरुवा हटाउने स्वीकृति दिएको छ । ‘प्रसारण लाइनको काम त भइरहेको छ, तर छिटो निर्माण सम्पन्न भए हामीलाई पनि सजिलो हुन्थ्यो’, चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘सबै तह र तप्काले प्रसारण लाइन निर्माणमा सहजीकरण गर्नुपर्ने आवश्यकता छ ।’
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५