काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली हुरी बतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेर उद्धार कार्यमा कुनै पनि समस्या हुन नदिन निर्देशन दिएका छन् ।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै गएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका थिए ।

गत राती पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँग आग्रह पनि गरेका छन् ।