काठमाडौं : ‘नेपाल लगानी सम्मेलन २०७५’ बाट विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी/व्यवसायी उत्साहित भएका छन् । सङ्घीय गणतन्त्रात्मक संविधान जारीपछिको निर्वाचनबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको हो ।
समापनका अवसरमा भएका विभिन्न दुई पक्षीय व्यावसायिक सम्झौताले अन्य लगानीकर्तालाई प्रेरित गरेको छ । नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक हुन सक्दैनन् र उनीहरुले विदेशी लगानी वा निजी क्षेत्रलाई प्रोत्साहित गर्दैनन् भन्ने भ्रमलाई सम्मेलनले चिरेको छ । सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिबद्धता व्यक्त गरेको थियो ।
लामो द्वन्द्वको अन्त्यपछिको नयाँ संविधान र त्यसपछिको निर्वाचनबाट गठित सरकारले राजनीति स्थिरता र समृद्धिको लक्ष्य लिएकाले विदेशी र स्वदेशी लगानीकर्तालाई ऊर्जा मिलेको हो । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले यो सम्मेलनलाई नेपालको विकासको सम्भावना र लगानीकर्ताको अवसरका रुपमा चित्रित गरेको छ । सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा स्थिर सरकार निर्माणसँगै सरकारले उपयुक्त समयमा महत्वपूर्ण सम्मेलन आयोजना गरेर विश्व समुदायलाई आर्थिक रुपान्तरणको सन्देश दिएको बताउँदे भने, अब हामीले समृद्धि र विकासका लागि ढिलाइ गर्नु हुँदैन । सधैँ द्वन्द्व र अस्थिरतामा रुमल्लिएर मुलुक अघि बढ्न सक्दैन । सम्मेलनले स्पष्टरुपमा यो सन्देश दिन सकेकामा खुशी लागेको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भवन भट्टले लगानी सम्मेलनले नेपालमा विकास र समृद्धिको स्रोत तथा प्रविधि जुटाउने असल थालनी भएको जनाउँदै यसले विश्वभर रहेका नेपालीलाई विपन्न र असफल मुलुकको हीनताबाट माथि उठाउन योगदान दिने बताए । नेपालमा लगानी गर्न चाहनेले विदेशमा रहेका गैरआवासीय नेपालीमार्फत पनि समन्वय गर्न सक्ने उल्लेख गरे ।
नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले सम्मेलनमा धेरै आइडिया (विचार)को आदान प्रदान भएको र मलेसियालगायत मुलुकले कसरी विकासमा फड्को मारेका रहेछन् भन्ने बुझ्न सम्मेलन सार्थक भएको बताए । सम्मेलनबाट प्राप्त ऊर्जालाई सेलाउन नदिई निरन्तर फलोअप गर्न सकेमा र ठूला पूर्वाधार विकासका लागि आवश्यक पर्ने रकमका लागि सरकारी बैंकलाई विदेशी बैंकबाट रकम परिचालन वा ग्यारेन्टी बस्ने वातावरण मिलेमा लगानीको थप सम्भावना देखिनेछ ।
मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव प्रस्तुत गर्दै निरन्तर लगानीका लागि विश्वजगत्मा सम्पर्कमा रहनु सुझाव दिएको सन्दर्भलाई नेपाली सहभागीले रुचाएका थिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनको सफलताले आफूहरुलाई उत्साहित बनाएको र नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि गरेका प्रतिबद्धता पूरा गरेमा लगानी र विकासको अवसर सिर्जना हुने बताए । नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको बताए ।
पूर्वाधार विकास, यातायात, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा लगानीका सम्भावनाका क्षेत्र र परियोजनाबारे लगानी बोर्डले परियोजना प्रस्तुत गरेको थियो । नेपालले लगानीमैत्री वातावरणका लागि विभिन्न नयाँ सरलीकृत कानूनको तर्जुमा र सुशासनको प्रतिबद्धता गर्दै लगानीको समन्वय र संयोजनका लागि एकल सेवा केन्द्रको विकास गर्ने जनाउँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५