उदयपुर : दुई महिनादेखि रिक्त रहेको उदयपुर सिमन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि १५ जनाले आवेदन दिएका छन् ।
निवर्तमान महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगममा कार्यकारी निर्देशक भएर गएसँगै रिक्त रहेको महाप्रबन्धकको पद अहिलेसम्म पूर्ति हुन सकेको छैन । पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उद्योगमा महाप्रबन्धकका लागि कर्मचारीदेखि राजनीतिक दलका नेताले लबिङ सुरु गरेका छन् ।
यसअघि राजनीतिक तवरबाट महाप्रबन्धक नियुक्ति हुँदै आएको उद्योगमा अहिले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रावधान ल्याएसँगै पुरानो परम्परा तोडिने भएको छ । उद्योगमा अहिले महाप्रबन्धकको दौडमा रामबाबु साह, धुर्मुस देवकोटा, विनोद अधिकारी, अनिलकुमार झा, रामधिन यादव, मनप्रसाद न्यौपाने, शम्भुप्रसाद घिमिरे, डाक्टर जनकबहादुर चन्द, टेकबहादुर राउत, तारानाथ पौडेल, हरेराम फुयाल, रामदेव यादव, रामसागर यादव, परमेश्वर घिमिरे र उद्धवप्रसाद तिमिल्सिना देखिएका छन् ।
आवेदन दिनेमध्ये रामबाबु साह र धुर्मुस देवकोटा सरकारी सिमेन्ट उद्योगमै कार्यरत कर्मचारी हुन । साह हेटौंडा सिमेन्ट उद्योगको खरिद विभाग प्रमुख र देवकोटा उदयपुर सिमेन्ट उद्योगको ११औँ तहका प्रशासन प्रमुख हुन् । महाप्रबन्धकको दौडमै रहेका अनिलकुमार झा पुनः दोस्रोपटक दोहोरिने दाउमा छन् । उनले यसअघि २०६६ देखि ०६८ सालसम्म उदयपुर सिमेन्ट उद्योग लिमिटेमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।
महाप्रबन्धककै दौडमा रहेकामध्ये टेकबहादुर राउत र परमेश्वर घिमिरे शिक्षण र राजनीतिक वृत्तका व्यक्ति हुन् । राउतको शिक्षण पेसासहित राजनीति तथा घिमिरे विशुद्ध रूपमा राजनीतिमा आबद्ध छन् । उनीहरू दुवैजना उदयपुरबाट महाप्रबन्धकको दौडमा सामेल छन् । २०४४ सालदेखि ०७५ सम्म उद्योगमा ३१ वर्षको अवधिमा २२ जना महाप्रबन्धक फेरिइसकेका छन् । माघ ६ गतेदेखि उद्योग अहिले निमित्त महाप्रबन्धक नवलकिशोर साहको नेतृत्वमा चलिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५