काठमाडाैं : राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन सुरु भएको छ ।
काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा सुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।
सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गराए । उदघाटन समारोहमा बोल्दै उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरेका छन् । सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
उद्घाटन शत्रमा म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्ने छन् ।
सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५