काराकास । भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोलाई १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको छ ।
महालेखापरीक्षक एल्भिस अमोरोसोले ग्वाइदोको आर्थिक विवरणहरू अस्वभाविक देखिएकाले प्रतिबन्ध लगाइएको जनाएका छन् । गुएइदोले गत जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।
गुएइदोलाई अमेरिका र युरोपेली संघसहित केही ल्याटिन अमेरिकी देशले समर्थन गरेपनि चीन र रुससहितका देश वर्तमान राष्ट्रपति निकोलास मादुरोको पक्षमा उभिएका छन् ।
गुएइदोले एल्भिस अमोरोसो महालेखापरीक्षक नै नभएको दाबी गरेका छन् । उनले आधिकारिक राष्ट्रिय परिषद्सँग मात्र महालेखापरीक्षक नियुक्त गर्न सक्ने शक्ति हुने बताउँदै सो निर्णयलाई आफूले अस्वीकार गरेको बताएका छन् ।
गत साता गुएइदोका एक प्रमुख सहयोगी रोबर्टो मर्रेरोलाई योजनावद्ध रूपमा विध्वंस मच्चाएको आरोपमा पक्राउ गरिएको थियो । उनको घरमा छापा मारिदा हतियार र थुप्रै विदेशी मुद्रा भेटिएको आरोप उनीमाथि थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५