लण्डन । युरोपेली संघ (ईयू) बाट अलग हुने ब्रेक्जिट प्रक्रियाका लागि उपाय खोज्न बेलायती संसदमा भएको मतदानमा कुनै पनि विकल्पमा बहुमत जुट्न सकेन । संसदमा प्रस्तुत गरिएका सबै विकल्प असफल भएका हुन् ।
भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत संग्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए । सांसदहरूको मनसाय बुझ्ने उद्देश्यले भएको सो मतदानको नतिजा बाध्यकारी नभएपनि यसले ब्रेक्जिटको प्रक्रिया जटिल रहेको संकेत गरेको छ ।
दिइएका आठ विकल्पमा अप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत संग्रह गर्नेसम्मका रहेका छन् । कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई सोमवार पुनः मतदानमा लैजानुपर्ने उल्लेख गरेका छन् ।
कतिपयले भने अब दोस्रो आमनिर्वाचनमा जाने र त्यसबाट चुनिएर आउने संसदले मात्रै यो गतिरोध अन्त्य गर्नसक्ने बताएका छन् । कुनै विकल्प नभेटिँदा समेत बेलायतले आगामी १२ अप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ ।
मतदान अघि प्रधानमन्त्री मेले आफूले तयार पारेको सम्झौता पारित गरिए ईयूसँगको भावी सम्बन्धबारे हुने वार्ताका लागि नयाँ नेतृत्वलाई पद छाड्ने बताएकी थिइन् । यद्यपि उनले समयसीमा भने खुलाइनन् ।
प्रधानमन्त्री मेले छाडेपनि नयाँ प्रक्रियाको नेतृत्व कसले गर्छ भन्ने प्रष्ट छैन । एकजना मन्त्रीले भनेका छन्, ‘प्रधानमन्त्री मेले तयार पारेको सम्झौता नै उपलब्ध ठीक विकल्प हो भन्ने यसले देखाएको छ ।’
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५