काठमाडौं : शेयर बजारको विकासका लागि सरकारले गर्नु भनेका कामहरू पनि नगरेको भन्दै लगानीकर्ताहरूको समूहले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइतबार बिहानै लगाएको ताला प्रहरीले खोलेको छ ।
बोर्डका अध्यक्ष रेवतबहादुर कार्की कार्यालय नगई अर्थ मन्त्रालय गएपछि धितोपत्र बोर्डले प्रहरीलाई खबर गर्यो र ललितपुरका प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी धितोपत्र बोर्ड आइपुग्यो ।
धर्नामा बसेका लगानीकर्ताहरूलाई जबर्जस्ती उठाउँदै १२:४५ मा प्रहरीले ताला फोड्यो । ताला फोडेपछि प्रहरीले बोर्डका कर्मचारीहरूलाई भित्र प्रवेश गराएको छ ।
लगानीकर्ताले ताला लगाएपछि कर्मचारीहरू कार्यालय प्रवेश गर्न पाएका थिएनन् । कार्यालय समयअघि प्रवेश गरेका तीन कर्मचारी भने भित्रै थुनिएका थिए ।
लगानीकर्ताहरूले पुँजी बजारको विकासको बाधक धितोपत्र बोर्ड भएको भन्दै निर्णायक आन्दोलनमा होमिएको बताएका छन् ।
बोर्डले प्रहरी लगाएर ज्यादती गरेको भन्दै लगानीकर्ताहरू आक्रोशित भई लगानीकर्ताहरूले भारत भ्रमणमा रहेका बोर्डका कार्यकारी निर्देशक निरज गिरीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
भ्रष्टाचारी निरज गिरी मुर्दावाद भन्दै लगानीकर्ताहरूले बोर्डको गेटअघि नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५