काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । शुक्रबार बसेको उद्योग वाणिज्य प्रबद्र्धन परिषद्को दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरूलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिए । परिषद्का तर्फबाट सुरज वैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले केही तत्वहरूले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए । ‘गणतन्त्र आएको छ, संघीयता आएको छ, आवधिक चुनाव भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘अब चाहिएको के हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनुपर्ने ? त्यस्तो हुँदैन ।’ यस्ता गतिविधि नियन्त्रण गर्न सरकार कानुन अनुसार अघि बढ्ने ओलीको स्पष्टोक्ति थियो ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५