काठमाडौं ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवर्द्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताएकी छन् ।
अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको संगठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उनले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताइन् ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न नारीलाई उद्यमशील तुल्याउन अपरिहार्य भएको बताउँदै सरकारीस्तरका पनि महिलालाई आत्मनिर्भर र उद्यमशीलतातर्फ उन्मुख गराउन विविध कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिइन् ।
‘बजारको आवश्यकताअनुसार निजी क्षेत्रले पनि कार्यक्रम बनाउनुपर्छ र सरकारले तिनलाई सहयोग पुग्ने किसिमका नीति तर्जुमा गर्नुपर्छ,’ सार्वजनिक-निजी साझेदारीमा महिला सशक्तीकरण एवं उद्यमशीलता विकास हुनुपर्ने बताइन् । -रासस
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५