काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतामा गम्भीर संकट आएकाे निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा खतरा उत्पन्न भएको बताएका हुन् । बिहीबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने चासोसहित आज बैठकमा छलफल भएको बताए ।
उनले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगाउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सि बिहान ११ बजे बैठक बस्ने बताए । प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ ।’
श्रेष्ठले दुबै अध्यक्षबीच स्थायी कमिटीलाई नै निरन्तरता दिने समझदारी भएको उल्लेख गर्दै भने, 'अध्यक्ष कमरेडद्वय प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहीबार बिहान संसद अधिवेशन अन्त्यको सिफारित नगर्ने र मन्त्रिपरिषद् बैठक नबोलाउने समझदारी भएको रहेछ । तर, उक्त समझदारीविपरीत दुबै कुरा भएपछि पार्टी गम्भीर संकटको मोडमा पुगेको त होइन भन्ने विषयमा छलफल भयो ।'
नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसँग भेटेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले अध्यादेशको बारेमा चर्चा चलेपछि त्यसबारे बुझ्न गएको बताए।
राष्ट्रपति र प्रधानमन्त्री दुबैले अहिले नै अध्यादेश नआउने बताएको जानकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा जानकारी गराएको पनि श्रेष्ठले बताए।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७