वीरगञ्ज । कार्ल मार्क्सको द्विशतवाषिर्कीको अवसरमा बुधबार वीरगञ्जमा ‘मधेशमा मार्क्सवाद’ विषयक गोष्ठी सुरु भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोष्ठीको उद्घाटन गरेका हुन् ।
मधेसमा विद्यमान गरिबी, अशिक्षा, असमानता र विभेदको अन्त्य गर्न माक्र्सवाद आवश्यक रहेको तर्क भन्दै नेताहरुले विभेद र असमानताको अन्त्य मार्क्सवादबाट मात्रै संभव रहेको दावी गरका छन् ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलो भएको परिस्कृति हुन नसकेको र अझै व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै लोकतन्त्र बलियो र व्यवस्थित नबनाएसम्म साम्यवादमा पुग्न नसकिने धारणा राखेका थिए ।
नेकपाका नेता घनश्याम भुसालले ‘अहिले तराई मधेसमा धनीलाई गरिब विरुद्ध, गरिबलाई धनीविरुद्ध लडाउने अनि फाइदा लिने काम भइरहेको बताउँदै माक्र्सवादले मात्रै मान्छेलाई मान्छेजस्तै बनाउने बताए । भुसालले ‘जडता, पछौटेपनको अन्त्य गर्न, चाकरी, दलाली र चाप्लुसीको बलमा शासन गर्ने क्रमलाई समाप्त पार्न, सम्पूर्ण वौद्धिक परम्परालाई जोगाउन मधेसमा माक्र्सवाद आवश्यक रहेको ठोकुवा समेत गरे ।
दुई दिने गोष्ठीले मधेसमा माक्सवादको भूकम्पीय कम्पन ल्याउने भुसालको दावी छ ।
प्रशिक्षणको पहिलो सत्रमा डा विजय पौडेलले माक्र्सवाद, यसको उत्पत्ति र उपयोग, मोहनविक्रम सिंहले समसामयिक राजनीति, गणेश साहले समाज विज्ञान, अनुसन्धान तथा राम कार्कीले माक्सर्वादको वर्तमान परिस्थिति र समाजवादको बारेमा धारणा राखेका छन् ।
दोस्रो दिन नेता रामचन्द्र झाले मधेसमा वर्ग संघर्ष र पहिचानका सवालमा धारणा राख्नेछन् । गोष्ठीमा प्रदेश नं २ का ८ वटै जिल्लाका नेकपाका नेता कार्यकर्ताहरु सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५