विनोद बराल
नेवारी समुदायमा बुख्याँचा भन्ने पात्र मौन हुन्छ, अनुहार देखिन्न, बोल्दैन तर डर देखाउँछ। यति मात्रै हो भने ठिकै हुन्थ्यो। तर आज नेपालमा यही पात्र राज्यसत्ता बनिसकेको छ। सिंहदरबारदेखि सानो गाउँपालिकासम्म, हरेक कुर्सीमा कुनै न कुनै बुख्याँचा विराजमान छ – निर्णय गर्न नसक्ने, उत्तर दिन नसक्ने, तर टाँसिएर बस्ने।
अनि बुख्याँचालाई नचाउने झोलेहरूको त कुरै नगरौं – जसरी जात्रामा नाचाउनेहरू हुन्छन्, यहाँ सत्ता सञ्चालकहरू छन्, जो नेता भनेर अगाडि बुख्याँचा राख्छन्, पछाडिबाट सबै चलाउँछन्। डर देखाएर देश चलाउने हो भने त नेपालले त अब कुर्सीमा भूतै राखे हुन्छ।
मौनताको राजनीति: डर देखाएर शासन गर्ने प्रवृत्ति
नेपालको वर्तमान राजनीतिक अवस्था बुख्याँचासँग ठ्याक्कै मेल खान्छ – मौन, अस्पष्ट, डरावना।
नीति छैन,
योजना छैन,
जवाफदेही त झन् दूरको कुरा।
जनतालाई धम्की दिइन्छ – बोल्यौं भने देशद्रोही, प्रश्न गर्यौं भने अराजक। लोकतन्त्रको नाममा जनतालाई मौन गराउने कसरत चलेको छ। नेताहरू कुर्सीमा छन्, तर काम गर्दैनन्। मुलुक मूल्यवृद्धि, बेरोजगारी र अस्थिरताको जालोमा फँसेको छ।
बुख्याँचा शासनको मनोविज्ञान: अनुहार छैन, उत्तर छैन
बुख्याँचा कहिल्यै अनुहार देखाउँदैन। आज देशमा नीतिगत निर्णय को गर्छ, त्यो कसैलाई थाहा छैन। मन्त्रालयको निर्णय कुन पार्टीको भागवण्डामा परेको कुन झोलेले बनाएको हो, कसैलाई थाहा छैन।
देश सिंगो रहस्यमा चलिरहेको छ – खुलापन छैन, पारदर्शिता छैन, जवाफदेही त स्वप्न हो। शासन होइन, ढाकछोप चलिरहेको छ।
झोले संस्कृति: सत्ता अब सेवा होइन, सौदाबाजी हो
आजको नेपाली सत्ता संरचना दुईवटा अनुहारमा सीमित भएको छ:
बूढो पुस्ता – असक्त, थकित र जड।
झोलेहरू – जसले लोकतन्त्रलाई निजी सम्पत्ति बनाएका छन्।
झोलेहरू पार्टी नेताको मूर्ति पूज्छन्, बुख्याँचा झैं अगाडि राख्छन्, अनि आफैं कमिसन र सिफारिसको धन्दा चलाउँछन्। उनीहरूलाई न नीति चाहिएको छ, न देशको हित – उनीहरूलाई केवल पहुँच चाहिएको हो। पहुँच पाएपछि हुन्छ – ठेक्का, जागिर, नियुक्ति सबै बाँडफाँट।
भ्रष्टाचार: बुख्याँचाको असली अनुहार
भ्रष्टाचार अहिले नीतिमा होइन, नैतिकतामा फैलिएको छ।
स्वास्थ्यमा कमिसन,
निर्माणमा गुणस्तरको बलिदान,
शिक्षामा पहुँचको विकृति।
हिजो संविधानमा गरिब, किसान र युवा लेख्नेहरू आज बिलासितामा डुबेका छन्। बुख्याँचाले टाउको हल्लाउँछ – बोल्दैन, तर उसको मौनताले करोडौंको हेराफेरी सहमति जनाउँछ।
अब त यस्तो भइसक्यो कि नीति बनाउन बैठक हुँदैन, कमिसन बाँड्न बैठक हुन्छ।
युवाको पलायन: राष्ट्रको भविष्य विदेशमा बिक्रीमा
देशका श्रमशील युवाहरू दुबई, कतार, मलेसियामा पसिना बगाइरहेका छन्। पढेका, योग्य, दक्ष युवाहरू युरोप, अमेरिका, अष्ट्रेलियातिर पलायन भइरहेका छन्। नेपालमा बाँकी छन्:
जागिरका लागि नेताको सिफारिस कुरिरहनेहरू,
चाकरीका लागि लम्पसार पर्नेहरू,
र निराश, थकित जनसमूह।
देशले आशा राखेका कर्णधारहरू प्रणालीको बेवास्ताले श्रमिक बने, त्यो पनि विदेशी भूमिमा। शिक्षा, सीप, र सपना सबै बुख्याँचाको मौन राज्यले विदेश तिर धकेलिदिएको हो।
बुख्याँचाको जात्रा होइन, देशको नियती
गथां मुगु जात्रामा बुख्याँचालाई नचाइन्छ, नचाउँदा नचाउँदै अन्ततः हटाइन्छ – पापको प्रतीकको अन्त्य का रूपमा। तर नेपालको राजनीतिक जात्रामा बुख्याँचालाई अझै सिँगारिन्छ, अझ सत्तामा उचालिन्छ।
हरेक चुनावमा हामी बुख्याँचालाई फेरि ल्याउँछौं –
भाषण,
नारा,
आश्वासन।
चुनाव सकिएपछि पात्र हराउँछ, पाप फस्टाउँछ।
देशको बाँकी सम्पत्ति: सिफारिस, साइनो र सौदाबाजी
नेपालमा आज निर्णय प्रणाली होइन, परिचय चलेको छ।
को कुन दलको?
को कुन नेताको नातेदार?
को कति चाकरी गर्छ?
यी आधारमा अवसर बाँडिन्छ। यस्तै व्यवस्थाले देशको मेरुदण्ड भाँचिएको छ।
निष्कर्ष: अब बुख्याँचा जलाउने बेला हो
देशको समस्या केवल ‘सिस्टम’ होइन, त्यो सिस्टम भित्र गाडिएको चरित्र हो। बुख्याँचा त्यो चरित्रको प्रतीक हो – जो मौन छ, डर देखाउँछ, जवाफदीनु पर्दैन भन्ने सोच बोकेको छ। यो सोच, यो शैली, यो संरचना हटाउन जरुरी छ।
अब समय आएको छ:
बुख्याँचा हटाएर उत्तरदायी नेतृत्व ल्याउने,
झोले संस्कृतिको पूर्ण अन्त्य गर्ने,
भ्रष्टाचारको जरामा प्रहार गर्ने,
युवा पलायनको विकल्प सिर्जना गर्ने,
लोकतन्त्रलाई केवल नारा होइन, निष्ठामा रूपान्तरण गर्ने।
अब डर देखाएर होइन, काम गरेर शासन गर , बुख्याँचा होइन, जवाफदेही नेतृत्व चाहिन्छ
प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२