–जनार्दन ढकाल
यतिबेला मुलुकमा संविधान बनेको छ । लामो समयदेखि संक्रमणमा जकडिएको नेपाललाई मुक्त गराई उचित विकास दिन संविधान मूल आवश्यकता थियो ।संविधान सभामार्फत जारी भएको संविधानको कार्यान्वयन अझ बढी आवश्यकताको विषय बनेको छ । जनताको चाहना पनि यही छ । यसैले म यस आलेखमार्फत रसुवा विकास, सम्भावना र केही प्रयास बारे चर्चा गर्न गइरहेको छु । दुरीको हिसावले राजधानीदेखि नजिक भएपनि रसुवा एक विकट जिल्लाकै रूपमा चित्रित छ । तर यहाँको गतिविधि र भौगोलिक क्षेत्र विकट जस्तो देखिए पनि विकासका प्रशस्त सम्भावना भने छ । यतिबेला विकासको कामहरू धेरै अघि बढिरहेका छन् भने केही ओझेलका सम्पदा र स्रोतहरूको खोजी गरी त्यसलाई विकासको मुलधारमा ल्याउने प्रयास भइरहेको छ । यसमा रसुवाली जनताको साथ पनि पाइरहेका छौं जुन ज्यादै प्रेरक पक्ष हो । २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभाको निर्वाचनले नेकपा एमालेलाई विजयी गरायो ।
२०७० मा समानुपातिक सहित २ जना सभासद् एमाले पार्टीबाटै प्राप्त भएको थियो । यो रसुवाली जनताको ठूलो विश्वास र जिल्लाको उचित विकास प्रतिको तिव्र चाहानाको प्रतिफल हो । विगतमा आंशिक जिम्मेवारी मात्र पाएको एमालेले संविधान सभाको निर्वाचनको विजयबाट पूर्णरुपमा जिल्लाको विकास गर्ने जिम्मेवारी पाएको महशुस गरेका छौं । रसुवाली जनताको चाहना र समयको मागसँगै उज्यालो र समुन्नत रसुवाको चित्र कोरिएको छ । बिहान—बेलुकीे हातमुख जोर्न सङ्घर्ष गरिरहेका रसुवालीलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक हैसियत उकास्दै समुन्नत बनाउने योजनामा छौं । अन्यौलपूर्ण र नजानिदो तरिकाले मध्यमाञ्चलको कर्णालीको संज्ञा पाएको यस जिल्लामा विकासका सम्भावनाहरू छन् । तर तिनलाई वास्तविकतामा नउतारेसम्म कसैले पत्यादैनन् । यसैले हाम्रो मुख्य दायित्व भएका सम्भावनाहरूको उचित संयोजन गरी विकासमा लम्किनु हुनेछ । रसुवा केन्द्रीय राजनीतिबाट उपेक्षित हुँदै आएको क्षेत्र हो । जिल्लाको समस्याको उचित छलफल नै केन्द्रीय मुद्दामा परेका छैनन् । प्रशासनिक क्षेत्रमा पनि रसुवा उपेक्षित क्षेत्रमा नै भएको महशुस गरेका छौं ।
विगतमा रसुवाले नेता पायो विकास पाएन । आश्वास पाए परिर्वतन पाएनन् । गोसाइँकुण्डको पानी घरघरमा पु¥याइने सपना बाडियो तर जनता काकाकुल भई बाच्न आजसम्म विवश भए । जनता भोट बैंक मात्रै भए । चुनावका बेला । तर ती नेता चुनाव सकिएपछि न रसुवा फर्के र न रसुवालीलाई बाँडेको सपनानै पूरा भयो । राप्रपाका रामकृष्ण आचार्य पटकपटक मन्त्री भए तर जिल्लामा विकासको नाममा देखिने काम केही गरिदिएनन् । अर्का गैरजिल्लाबासी डिबी लामा सांसद् भई मन्त्री पनि भए उनले पनि केही गरेनन् । पहिलो संविधान सभामा प्रेम तामाङले रसुवालीलाई अनेक सपना बाँडेर सभासद् भए उनको पनि हालत त्यही भयो । जनता आजित । विकास शून्य । बरू उल्टै कमिशनतन्त्र, घूसखोरी र निरंकुशवादी शासकको हावीले विकासमा अन्योलपन छाइरह्यो । यही कारण हामीलाई जनताले विश्वास गरे । रसुवाको इतिहासमा नेकपा एमालेबाट २ जना सभासद् थियौं, छोवाङ्तेन्जिन तामाङ (समानुपातिक) र पक्तिकार (प्रत्यक्ष निर्वाचित) । हामी जनताको चाहाना र बाचाअनुसार समृद्ध रसुवा निर्माण गर्न योजनाबद्दरूपमा अघि बढयौं । रसुवा, यहाँको प्रमुख पर्यटकीय क्षेत्रको कारण यहाँ रहेका जैविक विविधता, सांस्कृतिक, ऐतिहाँसिक र धार्मिक स्थलहरू र सुन्दर हिमालयहरूले यसको परिचय विश्वमै चिनाएको छ । जलस्रोतको अत्यन्तै धनी यस जिल्लामा यतिबेला दजनौं जलविद्युत केन्द्रहरू स्थापना भइरहेका छन् ।
यही सम्भावनाहरूलाई उचित प्रयोग र दीर्घकालिन योजना बनाएर अघि बढ्ने सके रसुवा निकट भविष्यमै समुन्नत हुने कुरामा दुईमत छैन । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परिचय स्थापना गर्न प्रयत्नशील लाङटाङ क्षेत्रको समुचित विकासका लागि हिमाल, जैविक विविधता, वन्यजन्तु, विश्व रामसार क्षेत्रमा सूचिकृत पवित्र तीर्थस्थल गोसाइँकुण्डलगायतका तालतलैयाको उचित संरक्षण कार्यलाई प्राथमिकतामा राखी यहाँका नयाँ तथा पुराना पर्यटकीय पथलाई विश्व बजारमा प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन क्षेत्रलाई थप जिम्मेवारी र जवाफदेही बनाउँदै अघि बढ्नु अर्काे महत्वपूर्ण काम हो । अर्काेतर्फ भर्खरै मात्र केरुङ नाका खुलेको छ । यो नाका त्रिदेशीय (चीन–नेपाल–भारत) व्यापारको दृष्टिले छोटो नाकाको रुपमा स्थापित हुँदैछ । यसले सिङ्गो रसुवाको पूर्वाधार र जिल्लाको विकासलाई गति दिन मद्दत पुग्नेछ । भने राज्यको आयस्रोतको लागि पनि एक गतिलो माध्यम बन्नेछ । त्यस्तै चीनबाट यही गन्तव्यहुँदै द्रुत गतीको रेल सेवा सञ्चालन हुने विषय पनि प्राथमिकतामा परेको छ, जुन रसुवाबासी मात्र नभई नेपालीहरूकै लागि अर्काे खुसीको कुरा हो । रसुवागढी नाकालाई लक्षित गर्दै निकटमा सुख्खा बन्दगाह बनाउने, अध्यागमन विभाग स्थापना गरी व्यापारिक माहोललाई पारदर्शि बनाउने मात्र नभई चीन हुँदै आउने विदेशी पर्यटक भित्रिने केन्द्रको रूपमा विकास गर्न संवैधानिक तवरले उठान गरी व्यवस्थापनका लागि पहल थालनी गरिनु जरुरी छ । जनताको आर्थिक उन्नतीको लागि हाल सञ्चालनमा रहेका दर्जनौं जलविद्युत केन्द्रहरूलाई तीव्रता दिन र थप क्षेत्रको सम्भावना खोजी गरी कार्यान्वयनमा लैजानको लागि हामी सबै रसुवालीले एकमत भई सहयोग गर्नुपर्ने देखिन्छ । भर्खरै भएको चिलिमे काण्ड जस्तो बखेडा झिक्ने हो भने हामी विकासमा पछि पर्नेछौं । यसमा हामी सबै सचेत हुनु आवश्यक छ । यसको लागि हामीले कमिशन र घुसखोरी तन्त्रको जरो उखेल्नु आवश्यक छ ।
नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानमा पनि रसुवाबाटै थाल्न सक्छौं । जुन सम्भवना रसुवाली खोलामा छ । जति धेरै जलविद्युत केन्द्र बन्छन्, त्यती धेरै हामी रसुवाली धनी हुनेछौं, समग्र मुलुकको आर्थिक विकासमा टेवा पुग्नेछ र समृद्ध नेपाल निर्माणमा सहयोग मिल्नेछ । रसुवा हिमाली जडिबुटीमा प्रचुर सम्भावना बोकेको कारण यहाँ बहुमुल्य जटिबुटीहरू उत्पादन भइरहेका छन् । यसको लागि जडिबुटी तथा तरकारी र पशुजन्य उत्पादन गरी बाह्य क्षेत्रमा आफ्नो उत्पादन बिक्रीमार्फत साटासाटको नीति अवलम्बन गरी थप बढाउने रणनीति अबिलम्ब गर्नु पनि त्यत्तिकै आवश्यकता छ । सडक विभागको दुहुनो गाई बनेको मूलखर्क, राम्चेलगायतको पहिरोलाई सँधै यही अवस्थामा राख्ने हो भने यसले सिङ्गो जिल्लाको विकासलाई बाधा पु¥याउने छ । ६ महिन चल्ने ६ महिना अवरोध हुँदा विकासको काममा ठूलो बाधा उत्पन्न हुनेछ । भू–धरातल सुहाउँदो सडक विस्तार तथा विकास गरी यहाँको कृषि उपजको व्यवसायिक बजारीकरणमा हामीले तदारूपताकासाथ योजना बनाउनु आवश्यक छ । कमजोर धरातलमा सडक हैन पर्यटन पूर्वाधारका संरचना निर्माण गर्दै सकेसम्म हरेक बजार केन्द्रित पक्की सडकको लागि हामीले पहल गर्नुपर्दछ ।
पूर्वमा यार्सा, सरमथली र भोर्ले उत्तरतिरका गाविस हाकुलगायत लाङटाङ र तामाङ सम्पदा मार्ग होस् या गोसाइँकुण्ड मार्गमा पर्यटनमैत्री सडक विस्तार योजना तय गरी त्यहाँको सम्भावित वा तयार भइसकेको पर्यटनको पूर्वाधारलाई जीवित राख्नु पर्दछ । यसको लागि हामीले दीर्घकालिन योजना पनि तय गरेका छौं । केही ठाउँमा पूर्वाधार निर्माणको काम पनि सुरु भइसकेको छ । जिल्लाका विकासका योजनामा देखिएको राजनीतिक बाँडफाँटलाई समयानुकूल सुधार गर्दै विकासमैत्री र जन आवश्यकतामैत्री योजना तर्जुमा तथा विनियोजन गर्ने दिशामा अघि बढ्नुपर्छ । अहिलेकै स्थितीमा विकास निर्माणको योजनाहरू बाँडफाँट भइरहने हो भने विकास होइन विनास हुनेछ र विकासको नामका केही दलहरूको भूँडी मात्र भरिनेछ । यो यर्थाथ हो । हामीले केलाउनुपर्छ । यसको लागि जनता जागरुक हुनुपर्छ । विकासमा प्राथमिकतामा पर्न नसकेको ठूलोस्याफ्रु सडक निर्माणका लागि लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत् बजेट विनियोजन गरी सडक पु¥याउने कार्य सम्पन्न भयो । शैक्षिक क्षेत्रको उपलब्धिलाई हेर्ने हो भने हरेक वर्ष गुणस्तर खस्किँदै गरेको अवस्था छ । विद्यालयमा हुने गरेको अनियमितता, शिक्षकको अध्यापनमा भन्दा राजनीतिक खटाई बढी हुने व्यापक जनगुनासो आइरहेको छ । विभिन्न सहकारी, समूह र उपभोक्ता समूहको नेतृत्व गर्नेतर्फ शिक्षकहरू नै लाग्ने गरेकोले पनि शैक्षिक गुणस्तरमा ह्रास आएको पक्का हो । शिक्षकहरूले आफ्नो प्राथमिकताको क्षेत्रमा उन्मुख हुनुपर्छ । हामी सूचना र सञ्चारको क्षेत्रमा अति नै पछाडी छौं ।
जनताको सुसूचित हुने अधिकार कुण्ठित भएको छ । पत्रपत्रिका सञ्चालन छैनन् । जिल्लाको सञ्चार क्षेत्रको विकास गर्न सबैको प्रयास आवश्यक छ । यसको लागि सरोकारवाला निकायको पनि ध्यान नपुगेको अवस्था छ । सञ्चार क्षेत्रको विकास गर्नको लागि पनि हामीले योजना बनाएर अघि बढ्नुपर्नेछ । यसकारण यी तमाम् क्षेत्रको सुधार र समुन्न रसुवा निर्माण गर्न र सबै रसुवाली एकजुट हुनु आवश्यक छ । यसो भएमा दीर्घकालिन विकासको थालनी हुन्छ र सबैमा अपनत्व पनि बढ्छ । हरेक वस्ती वा वडामा कमसेकम एउटा भनेपनि नमूना योजना सञ्चालन गरी विकासमा अपनत्वको भावना जनतामा जगाई सुदृढिकरण तथा स्थायित्व गर्ने दिशामा हामी जानु आवश्यक छ । यसो हुँदा हामीले समृद्ध, आत्मनिर्भर जिल्लाको विकास गर्न सक्नेछौं ।
(लेखक रसुवाबाट संघीय प्रतिनिधि सभाका उम्मेद्वार तथा २०७० मा प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।)
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४