काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले ११औं महाधिवेशनमा अध्यक्ष र महासचिव पदमा उम्मेदवार बनेका ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले देखाएको साहसको उच्च सम्मान गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नेतृत्व रहेको प्यानलसँग प्रतिस्पर्धामा उत्रँदै पोखरेल र पाण्डेले संगठनभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाएको भट्टराईको भनाइ छ । उनले यस्तो प्रतिस्पर्धालाई पार्टीभित्रको सकारात्मक संस्कृतिको रूपमा व्याख्या गरेका छन् ।
‘कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे, तपाईंहरूको इमान, निष्ठा र साहसप्रति उच्च सम्मानसहित सलाम,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिमका सम्पूर्ण कमरेडहरूको एकता, सहकार्य र योगदानप्रति म आभारी छु ।’
महाधिवेशनमा पोखरेल अध्यक्ष पदमा ओलीसँग र पाण्डे महासचिव पदमा शंकर पोखरेलसँग पराजित भएका थिए । सोही प्यानलबाट उम्मेदवार बनेका योगेश भट्टराई भने उपमहासचिव पदमा निर्वाचित भएका हुन् ।
आफ्नो विजयका लागि मत दिने प्रतिनिधिहरूलाई धन्यवाद दिँदै भट्टराईले पार्टी सदस्य तथा आम जनसमुदायको निरन्तर निगरानी र मूल्यांकनको दायरामा रहेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘सम्पूर्ण प्रतिनिधि तथा पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उनले लेखेका छन्, ‘पार्टी सदस्य र आम जनताको निगरानी तथा परीक्षामा सधैं खरो उत्रने प्रयास गर्नेछु ।’
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२