काठमाडौँ । मण्डला थिएटरमा अहिले दुईवटा सशक्त नाटक एकसाथ मञ्चनमा छन्, जसको निर्देशन युवा सृजनाकारहरूले गरेका छन्। मणि कुलुङ राई निर्देशित ‘हराएको कुकुर’ र सन्दीप श्रेष्ठको लेखन तथा निर्देशनमा तयार ‘चन्द्रेलाई कस्ले मार्यो ?’ दर्शकसामु प्रस्तुत भइरहेका छन्।
रबिन तामाङको नाट्य रूपान्तरण रहेको ‘हराएको कुकुर’ नाटक असार २१ देखि सुरु भएको हो र साउन ४ गतेसम्म मण्डलामा मञ्चन हुनेछ। यो नाटकले राज्यसंरचनाभित्र व्याप्त अन्याय र नागरिक आवाजमाथिको दमनको विषय उठान गरेको छ ।
यस्तै, सन्दीप श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको ‘चन्द्रेलाई कस्ले मार्यो ?’ असार २५ बाट सुरु भई साउन १८ सम्म मञ्चन हुनेछ। यो नाटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कथा र उनीहरूले भोग्नु पर्ने पीडालाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ।
समसामयिक र सामाजिक सन्देश बोकेका यी दुई नाटकले युवा निर्देशकहरूको दृष्टिकोण र सामाजिक सरोकारप्रतिको चासो उजागर गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२