काठमाडौं । नेपाली युवाले वैदेशिक रोजगारीका क्रममा भोग्ने संघर्ष र पीडालाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र आगामी श्रावण १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
ट्रेलरमा खाडी मुलुक र मलेसियामा रोजगारीका लागि गएका नेपाली कामदारहरूले भोग्नुपरेका पीडादायी परिस्थितिहरू देखाइएको छ। समावेश दृश्यहरू भावनात्मक छन्— जसले बन्धक बनाइएका वा अत्याचार सहनुपरेका नेपाली श्रमिकहरूको तीतो यथार्थ झल्काउँछन्।
ट्रेलरमा अभिनेता प्रमोद चौलागाईं द्वारा बन्दी बनिएको अवस्थामा नेपालमा पठाइएको भिडियो सन्देश देखिन्छ, जुन टेलिभिजनमा प्रसारण भइरहेका दृश्यमार्फत प्रस्तुत गरिएको छ ।
चलचित्रको शीर्षक ‘रियाल रिङ्गेट’ नै प्रतीकात्मक छ, जसमा खाडी राष्ट्रहरूको मुद्रा ‘रियाल’ र मलेसियाको ‘रिङ्गेट’ समावेश छन्। यसले रोजगारीका लागि मुख्य गन्तव्य भएका देशहरूमाथि संकेत गर्छ— जहाँ लाखौँ नेपालीहरू आफ्नो भविष्यको खोजीमा पसीना बगाइरहेका छन्।
नेत्रा ढुङ्गाना मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् भने उनीसँगै प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरी लगायतका कलाकारहरू छन्।
चलचित्रको कथा प्रदीप भारद्वाज ले लेखेका हुन् भने छायांकन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२