काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसनको घोषणा गरेका छन्।अदालतमा विचाराधीन मुद्दा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेसँगै उनले अनसनको घोषणा गरेका हुन्।
२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
तर जेठ ३० गते मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयप्रति रोष व्यक्त गर्दै उनले अनसनको घोषणा गरेका हुन्।
‘अहिलेसम्म म धैर्य भएर पर्खेकै थिएँ। अब मेरा सबै बाटो बन्द भएपछि आज यहीँबाट सत्याग्रह सुरु गर्दैछु। अदालतमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन। हेर्नुस् त, यो देशको विधिको शासन र लोकतन्त्र। अदालतलाई, यो बेञ्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमानदारिताको हत्या गरिँदैछ’, प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
उपप्राध्यापक चलाउनेसहित केही व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
उनको भनाइ :
प्रियजनहरू, म माथिको सङ्गठित अपराध घाम जत्तिकै छर्लङ्ग घटना हो। ब्रड डे लाइटमा उनीहरू पेशेवर अपराधीसहित मलाई मार्न आएका थिए। न्यायका निम्ति म अदालतको ढोका ढकढकाइरहेको थिएँ। मेरा आँखा देशको न्यायालयतर्फ थिए। यही असार ५ गते जिल्लामा मेरो अन्तिम सुनुवाइको पेशी थियो।
मलाई न्याय दिनुको साटो अदालतलाई समेत बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिन अघि सरकारले मुद्दा फिर्ताको निर्णय लियो। क्याबिनेटबाट मुद्दा फिर्ता लिएर सिङ्गो राज्य मेराविरूद्ध लाग्यो। जे गर्थ्यो अदालतले गर्थ्यो। अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन ? यो सरासर अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हो। दण्डहीनता बढाउने खेल हो। अबदेखि कुनै अपराधीले कुनै अमुक पार्टीको ब्यानरमा कसैको हत्या गरे पनि उसलाई केही नहुने भयो। सिङ्गो राज्य मेराविरूद्ध लागेपछि मेरा अघि केही विकल्प बाँकी रहेन। सिवाय मर्न।
प्रियजनहरू म आमरण अनसन थाल्दैछु। म गुहार माग्न सडकमा आउँदै छु। म मरे पनि केही छैन। मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस्। यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चों होस्।
शक्ति सन्तुलनको महत्त्वपूर्ण निकायलाई कस्तो बनाइँदैछ भन्ने बारेमा छलफल होस्। मेरो लडाइँ हजारौँ प्रेम बहादुर चलाउनेको लडाइँ हो।
आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यही रहेछ। विश्वविद्यालयमा अपराध बढेको छ। अपराधी गिरोहले शिक्षक, कर्मचारीको निरीहताको फाइदा उठाएका छन्।
शिक्षकहरू बोल्न सकेका छैनन्। म किन पनि यो लडाइँ लडिरहेको छु भने मलाई भन्नु छ तिमीले ठानेजस्तो शिक्षकहरू कायर हुँदैनन्। पर्यो भने आफूले वा देशको कुनै नागरिकले भोगेको अन्यायका विरुद्धमा ज्यानको बाजी थापेर पनि लड्छन्।
अभियुक्त ७ जनामध्ये ३ जना त भागिसकेका छन्। सातै जनाले अदालतको तारेख गुजारेर बसेका छन्। उनीहरू सबै जना पटक पटक कहिले प्रहरीको कष्टडी त कहिले अदालतको आदेशबाट भागी हिँडेका व्यक्ति हुन्। यस्ताको मुद्दा कसरी फिर्ता लिइयो ? विश्वविद्यालयमा दण्डहीनता कम भयो भनेर होरु कुलपति ज्यूले प्राध्यापक मारिनु पर्छ, पिटिनु पर्छ, तिमी सधैँ भय र त्रासमा बाँच्नु पर्छ भन्न खोज्नु भएको हो रु पूर्वाञ्चल विश्वविद्यालयमा भएको अस्ति भर्खरको घटनाको खाटा पनि बस्न पाएको छैन।
यस्ता घटनालाई निरन्तरता दिई राख्नका निम्ति होरु बालकृष्ण खाँण, कृष्ण सिटौलाले लाख कोसिस गरी मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दा वर्तमान सरकारले सजिलै मन्त्रिपरिषदबाट फिर्ता लिने दुस्साहस गर्यो।
अहिलेसम्म म धैर्य भएर पर्खेकै थिएँ। अब मेरा सबै बाटो बन्द भएपछि आज यहीँबाट सत्याग्रह सुरु गर्दैछु। अदालतमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन।
हेर्नुस् त, यो देशको विधिको शासन र लोकतन्त्र। अदालतलाई, यो बेन्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमानदारिताको हत्या गरिँदैछ।
मलाई राज्य संयन्त्रले न्याय दिन सकेन। यो देश गुण्डा, अपराधीको देश रहेछ। मलाई यो अपराधीको देशमा बाँच्नु छैन। राज्यले मलाई थप अन्याय गर्यो। त्यसैले म जस्ता हजारौँ पीडित राज्यबाटै थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनसन सुरु गर्दैछु, न्यायप्रेमी जनताहरूको साथ सहयोगको अपेक्षासहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु।
प्रकाशित मिति: सोमबार, असार ४, २०८०