काठमाडौं । लामो समयदेखि विभाजित रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच अन्ततः एकताको सहमति भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार दुई वाक्यको सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको औपचारिक प्रक्रिया अघि बढाएका हुन् ।
धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा लिङदेन र थापाले सहमतिपत्रमा हस्ताक्षर गरेपछि एक–अर्कालाई अंकमाल गरेका थिए । सहमतिपत्रमा उल्लेख छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’
राप्रपाभित्रको विभाजनको इतिहास लामो छ । राजसंस्था, हिन्दुराष्ट्र, संघीयताको प्रश्न, नेतृत्व शैली र चुनावी रणनीतिमा देखिएका मतभेदका कारण पार्टी पटक–पटक फुट्दै आएको थियो । विशेषगरी २०७८ सालको महाधिवेशनपछि अध्यक्ष पदमा राजेन्द्र लिङदेन निर्वाचित भएपछि कमल थापाले परिणाम अस्वीकार गर्दै अलग भएर ‘राप्रपा नेपाल’ सक्रिय बनाएका थिए ।
विभाजनपछि दुवै दलको चुनावी हैसियत कमजोर बन्दै गयो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले सीमित सफलता पाए पनि राप्रपा नेपाल संसद बाहिर रह्यो । साझा एजेन्डा हुँदाहुँदै विभाजित शक्तिले अपेक्षित राजनीतिक प्रभाव देखाउन नसकेको निष्कर्षमा दुवै पक्ष पुगेका थिए ।
देशको वर्तमान राजनीतिक अवस्था, स्थापित दलहरूप्रति बढ्दो जनअसन्तुष्टि र राजावादी धारलाई एकताबद्ध गर्नुपर्ने दबाबकै बीच लिङदेन र थापाबीच पुनः संवाद सुरु भएको थियो । त्यसकै परिणामस्वरूप दुवै पक्ष एकताको सहमतिमा पुगेका हुन् ।
पार्टी स्रोतका अनुसार एकता घोषणा सभापछि संगठनात्मक संरचना, नेतृत्वको भूमिका, महाधिवेशन र भावी चुनावी रणनीतिबारे विस्तृत निर्णय गरिनेछ । पौष १६ गते हुने औपचारिक एकता घोषणालाई राप्रपाको भावी राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२