काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भई बयान दिन अनुरोध गरेको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने विषयमा भने अझै निर्णय हुन बाँकी छ। यद्यपि लेखकपछाडि ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी आयोगले गरिरहेको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका बेला रमेश लेखक गृहमन्त्री थिए। सोही दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले साँझ गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
यसअघि आयोगले सबै सुरक्षा निकायका प्रमुख, मुख्यसचिव, गृहसचिव तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतसँग बयान लिइसकेको छ।
तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगमा उपस्थित भएर बयान दिन नआउने अडान सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२