काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनुकूल वातावरण बनाएमा पार्टी चुनावमा सहभागी हुन पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफूहरू बहुमतसहित चुनाव जित्ने दाबी गरे।
बिहीबार आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, “निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारको हो। त्यो वातावरण बने हामी चुनावमा जान्छौँ र बहुमत ल्याउँछौँ।” उनले एमाले सधैँ स्वतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा रहेको पनि स्पष्ट पारे।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको संयुक्त भेटघाटका विषयमा उल्लेख गर्दै ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा छलफल भएको बताए। “हामीले राष्ट्रपतिलाई भन्यौँ—हामी चुनाव विरोधी होइनौँ, प्रतिगमन चाहँदैनौँ। प्रतिनिधिसभा छिटो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो धारणा हो,” उनले भने।
अदालतमा विचाराधीन विषयमा अदालतको फैसलाअनुसार अघि बढ्ने उल्लेख गर्दै ओलीले वर्तमान अवस्थामा निर्वाचनको अनुकूल माहोल नभएको आरोप लगाए। “प्रधानमन्त्री र राष्ट्रपति चुनावको कुरा गर्नुहुन्छ, तर वातावरण कहाँ छ ? अहिले पनि नेताहरूलाई हिँड्न नदिने, आक्रमण हुने अवस्था छ। यस्तो अवस्थामा निष्पक्ष निर्वाचन कसरी सम्भव हुन्छ ?” उनको प्रश्न थियो।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२