काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ भने ७ लाख ९८ हजार ५४४ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३११ जना रहेका छन् । जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसनमा रहेका छन् भने ५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२५ जना आइसियु र ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८