काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जेड आन्दोलनपछि विकसित परिस्थितिको समाधान संविधानको दायरामै खोज्नुपर्ने बताएका छन्।
भिडियोमार्फत धारणा सार्वजनिक गर्दै थापाले संविधानभन्दा बाहिर गएर समाधान खोजेमा केही समयपछि असम्हालिने अवस्था आउने चेतावनी दिए। उनले लामो संघर्षपछि प्राप्त संविधानलाई निरन्तरता दिँदै त्यसभित्र आवश्यक आमूल सुधार गर्न सकिने भन्दै जेन–जेड पुस्तालाई संयमित भएर अघि बढ्न आग्रह गरे।
थापाले भने, “२०६२/६३ को आन्दोलनपछि बनाइएको संविधान सजिलोसँग आएको होइन। गृहयुद्धदेखि जातीय द्वन्द्वसम्मका चुनौती पार गरेर सन्तुलन खोजी यो संविधान बनेको हो। अहिले कसैले केही भनेको छैन, तर अधिकार खोसियो भन्ने अनुभव भए फेरि सबै उठ्ने अवस्था आउँछ, जुन सम्हाल्न नसकिने हुन्छ।”
उनले जेन–जेडलाई सरकार निर्माणमा सक्रिय सहभागिता जनाउन, आन्दोलनका क्रममा भएको हत्या तथा विध्वंसको छानबिन गरी दोषीलाई कारबाही गर्न र २०४६ यता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।
थापाले दोस्रो दिनको अराजक प्रदर्शनमा जेन–जेडको संलग्नता नरहेको स्पष्ट गर्दै, त्यहाँ कतिपय नयाँ र कतिपय पुराना अनुहारहरूको संलग्नता रहेको बताए।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२