काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष राजनीतिक–सैनिक बैठक बसेको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजी आन्दोलनतर्फबाट प्रधानमन्त्री पदका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहभागी छन्।
जेनजी आन्दोलनका समूहहरूले संसद विघटनलाई अनिवार्य शर्त बनाइरहेका बेला शीतल निवासमा नयाँ सरकार गठनबारे कानुनी आधार खोज्ने छलफल सुरु भएको हो।
स्रोतहरूका अनुसार प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सहमति नजिकै पुर्याइएको छ। तर संसद विघटनबिना प्रधानमन्त्री घोषणा गर्न संविधानले छुट नदिने, र संसद विघटनका लागि स्पष्ट कानुनी आधार पनि नदेखिएकाले प्रक्रिया अन्योलमा परेको बताइन्छ।
काठमाडौंका मेयर बालेन्द्र साहसहित जेनजी नेताहरू संसद विघटनमा अडिग रहे पनि राष्ट्रपति पौडेल त्यसमाथि सकारात्मक देखिएका छैनन्। यही कारण सहमति अन्तिम रूप लिन सकेको छैन।
जेनजी समूहले कानुनी पक्षलाई टेवा दिन अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारेका छन्। संसद विघटनको टुंगो भएपछि मात्र सबै पक्ष भौतिकरूपमै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२