काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा देखिएको जटिल परिस्थितिको समाधान संविधानको मर्म र प्रावधानअनुसार खोज्नुपर्नेमा जोड दिएकी छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले नेपालमा प्राप्त भएको लोकतान्त्रिक उपलब्धि र जनताको बलिदानबाट आएको संविधानलाई कुनै हालतमा कमजोर पार्न नहुने बताइन्।
भण्डारीले आन्दोलनरत जेन–जी पुस्ताको आकांक्षा र चाहनालाई संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय हुनु हुँदैन। नागरिक सर्वोच्चतामा चोट पुर्याइने काम नगरियोस् भन्ने मेरो प्रष्ट आग्रह हो।”
उनका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर सरकार कामचलाउ अवस्थामा पुगे पनि मुलुकसँग निर्वाचित संसद र राष्ट्रपति जस्ता संवैधानिक निकाय कायम नै भएकाले यही आधारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सकिन्छ। उनले यसमा राष्ट्रपति सक्रिय हुनुपर्ने सुझाव दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपाली सेनासहित सुरक्षा निकायले शान्ति र अमनचयन कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै सबै पक्षलाई धैर्य र संयमित ढंगले अघि बढ्न आग्रह गरिन्।
भण्डारीले राजनीतिक दलहरूको पनि परीक्षा अहिले नै भएको बताइन्। उनले भनेकी छन्, “लोकतान्त्रिक र क्रान्तिकारी शक्तिले अप्ठ्यारो परिस्थिति भन्दै पलायन होइन, दृढ अठोट देखाउनुपर्छ। पार्टीहरूले भित्रको एकता र सहकार्यलाई मजबुत पार्दै सहयात्री दलहरूसँग सामन्जस्य खोजेर मुलुकलाई स्थिर दिशातर्फ लैजानुपर्छ।”
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२